९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


देउराली जनताले कोरोनाको औषधि बनाउने, सरकारलाई सित्तैमा दिने घोषणा


0
Shares

काठमाडौं, चैत ११ । देउराली जनता फर्मास्युटिकल्स प्रालिले कोरोना भाईरसको उपचारमा प्रयोग हुने ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’ उत्पादन गर्ने जानकारी दिएको छ ।

आफूले उत्पादन गर्ने औषधि सरकारलाई सित्तैमा दिने पनि उसले जनाएको छ ।

‘विश्वभरि हालसम्म कोभिड–१९ को उपचारका लागि एकमात्र औषधिका रूपमा यसको उपयोग गर्न सकिने विभिन्न शोधहरूले देखाएका छन्, भारतले यसलाई औपचारिक प्रयोगमा ल्याउने निर्णय नै गरिसकेको छ,’ देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए ।

कम्पनीले तत्काल ४ लाख ट्याबलेट हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई निःशुल्क उपलब्ध गराउने विज्ञप्ति निकाली जानकारी दिएको छ ।

यो करिब १५ हजार कोभिड–१९ का बिमारीको उपचारका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ । यसको बजार मूल्य करिब ४८ लाख रुपैयाँ बराबर पर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

देउराली जनताले हाल विभिन्न प्रकारका जीवन रक्षकसहित २१० प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।

मास्क बनाउँदै मल्होत्रा

अर्का उद्योगी दीपक मल्होत्राले भने मास्क उत्पादन गरिरहेका छन् । सोमबारदेखि मल्होत्राले उत्पादन गरेको मास्क स्वास्थ्य मन्त्रालयले किन्ने छ । मास्क उत्पादनका लागि आइतबार भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ आइपुगेको थियो ।

मल्होत्राले उत्पादन गरेको मास्क स्वास्थ्य मन्त्रालयमार्फत् हस्पिटलहरूमा जाने छ । स्वास्थ्य मन्त्रालयलाई दिएर बढी भएको मास्क भने आफूहरू आफैं आर्मी पुलिस तथा अत्यावश्यक ठाउँमा निःशुल्क बाँड्ने योजना बनाएको उनले बताए ।

मल्होत्राले १ सेट मेसिन ल्याएर मास्क उत्पादन थालेका हुन् । मेसिनको उत्पादन क्षमता हप्तामा ५ लाख पिस रहेको र दैनिक ७० हजार मास्क उत्पादन उनले बताए ।