१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘लक डाउन’मा खाद्यान्नलगायतका पसल बन्द नगर्नुः गृह मन्त्रालय


0
Shares

काठमाडौं, चैत्र ११ । सरकारले खाद्यान्नलगायतका पसल नियमित खोल्न सबैमा अनुरोध गरेको छ ।

‘लक डाउन’को पहिलो दिन केही अत्यावश्यक बस्तुहरुको कारोबार गर्ने पसलहरु बन्द भएको भन्दै गृह मन्त्रालयले त्यस्ता पसलहरु सधैँ जस्तो नियमित सञ्चालन गरिदिन अनुरोध गरेको हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले खाद्यान्न लगायतका पसलहरु बन्द नगर्न गरेको अपिलमा भनिएको छ, ‘पहिलो दिन भएकोले आवश्यक वस्तु र सेवा संचालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएका पनि देखिएका छन् । स्वास्थ्य, सुरक्षा खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसंचार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्यक बस्तुहरुको कारोबार बन्द नहुने हुँदा सदा झै निर्वाध रुपमा सञ्चालन गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।’

यस्तै कोरोना भाइरसको संक्रमणबाट जोगिने उद्देश्यले जारी गरिएको आदेशको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गरिदिन गृहमन्त्रालयले फेरि सर्वसाधारणसँग आग्रह गरेको छ ।

‘लक डाउन’को पहिलो दिन सहयोग गरेकामा गृहले नागरिकलाई धन्यवाद पनि दिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले मंगलबार बिहानदेखि देशभर एक साता ‘लक डाउन’ गरेको छ ।