१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वाणिज्य बैंकहरुले वैशाखमा निक्षेपको ब्याजदर नबढाउने


312
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकहरुले बैसाखमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।

नेपाल बैंकर्स एशोसिएनको आज (आइतबार) बसेको बैठकमा ब्याज नबढाउने भद्र सहमति गरेका हुन् । यस अनुसार वैशाखका लागि पनि निक्षेपमा ब्याजदर ११ दशमलj शून्य ३ प्रतिशत नै लागूहुने भएको छ । त्यस्तै, वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् ।

राष्ट्र बैंकले अत्यावश्यक बाहेकका सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सामूहिक निर्णय लिएको हो । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले गत साता नै गाडीलगायत कम आवश्यक र विलासिताका वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखाहरुलाई निर्देशन दिइसकेका छन् । तर उक्त विषयमा बैंकर्स संघले औपचारिक निर्णय गरिसकेको थिएन ।

सोही कारण संघले औपचारिक रुपमै अर्को सातासम्मका लागि उल्लिखित वस्तुका लागि एलसी नखोल्ने निर्णय लिएका हुन । यो निर्णय पछि बैंकहरुले तोकिएका वस्तु आयातका लागि एलसी खोल्ने छैनन् । यसअघि राष्ट्र बैंकले दुई पटक गरी ६७ उपसमूह अन्तर्गत पर्ने करिब साढे १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १ सय प्रतिशतसम्म नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाले गत फागुनमा आयात केही घटेपनि चैतमा पुन: बढेको संकेत भन्सारका तथ्यांकले देखाएपछि गत साता राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतलाई डाकेर गाडी लगायत अनावश्यक वस्तु आयातका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।

बैंकहरुका गतिविधि राष्ट्र बैंकले सुक्ष्म रुपमा नियमन गर्ने र निर्देशन पालना नभए कारवाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको थियो ।