
काठमाडौं, चैत्र १२ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वस्वास्थ्यमन्त्री गगन थापाले खुला पत्र लेखेका छन् ।
पत्रमा उनले कोरोना भाइरस (कोभिड (१९)को परीक्षण दायरा बढाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेको पत्र सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्दै उनले एक साताको सीमाबन्दी र लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आग्रह गरेका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्न आग्रह गर्दै थापाले धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
कम्तिमा हरेक प्रदेशमा तत्काल परीक्षण थाल्नुपर्ने भन्दै उनले काठमाडौं बाहिर दर्जनौं ठाउँमा थोरै दिनमा परीक्षण सुरु गर्न सकिने अधिकारीहरुको भनाइ कार्यान्वयन गर्न भनेका छन् ।
निजी प्रयोगशालाहरुमा पनि परीक्षण सुरु गर्न आग्रह गदै उनले अस्पतालमा आएका मात्र होइन, कोरोना फैलिएका देशबाट आएका र ती व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई समेत परीक्षणको दायरामा समेट्न भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्