
काठमाडौं, चैत १२ । हवाई सेवा बन्द भएपछि सुदूर–पश्चिम प्रदेशमा कोरोनाको आशंका गरिएको व्यक्तिको थ्रोट स्वावको नमूना काठमाण्डौं पठाउन समस्या भएको छ ।
सुदूरपश्चिममा कोरोनाको परीक्षण गर्ने प्रयोगशाला नहुँदा दुई दिनअघि सम्म कोरोना आशंका गरिएका व्यक्तिको थ्रोट स्वाव परीक्षणको नमूना सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला तारानगरलाई पठाउने गरेको थियो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले त्यो नमूना हवाईजहाज मार्फत काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको थियो ।
हवाई सेवा बन्द हुँदा आशंका गरिएका व्यक्तिको थ्रोट स्वाव नमूना काठमाण्डौं पठाउन समस्या भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले बताए ।
हालसम्म सेती प्रादेशिक अस्पतालबाट प्राप्त १४ जना व्यक्तिको थ्रोट स्वाव नमूना परीक्षणका लागि काठमाण्डौं पठाइएको थियो । पठाएका सबैको रिपोर्ट नेगेटिभ आएको निमित्त निर्देशक सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्