
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी भोलि (मंगलबार) सुरूङमा खसालिने भएको छ ।
गत २ असारमा आएको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी खसाल्न लागेको हो ।
बाढीले क्षतिग्रस्त मेलम्चीको मुहान मर्मत सम्भार सकिएसँगै पानी खसालिन लागेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिनुभयो ।
हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएसँगै पानी सुरूङमार्गमा खसालिन लागिएको उहाँको भनाइ छ । अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो । सोही अनुसार मर्मत सम्भारको कामलाई तीव्रता दिएको थियो ।
‘भोलि सुरूङमा पानी खसालिन्छ, सुरूङमा पानी भरिएर काठमाडौं आइपुग्न केही दिन लाग्छ,’ उहाँले भन्नुभयो, ‘अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने बाहेकको अन्य काम सकिएको छैन।’
गत असारमा आएको बाढीले हेडबक्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो । मंगलबार सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्न केही दिन लाग्नेछ ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल ईन्जिनियर राजेन्द्र पन्तले अस्थायी रूपमा पानी ल्याउन आवश्यक संरचना तयार भइसकेको बताउनुभयो । मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी पक्की पुल निर्माण भएका छन् । बाँकी काम निर्माणाधीन अवस्थामा रहेको पन्तको भनाइ छ ।
गत वर्ष १७ चैतमा मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा झारिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
सुरूङ परीक्षणका लागि १ असारमा सुरूङमा पानी बन्द गरिएको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो । बाढीले मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिन जम्मा भएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । मेलम्ची खानेपानी आयोजनाको औपचारिक रूपमा दोस्रो पटक उद्घाटन गर्न लागिएको थियो । तर, निर्वाचन आचारसंहिता लागु भएसँगै उद्घाटन कार्यक्रम स्थगित भएको छ ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै सरकारले मेलम्चीको काम चाँडो सक्न दबाब दिँदै आएको थियो । जसले गर्दा अहिले पनि सुरूङ सफा गर्ने कामबाहेक अन्य बाटो बनाउने, पुन निर्माण गर्ने लगायतका काम जारी नै छ ।
प्रतिक्रिया दिनुहोस्