१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन : डा. शेखर कोइराला


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानविन गर्न पाउने बताउनुभयो ।

अर्थमन्त्रालयले गरेका गलत काम राष्ट्र बैंकले रोक्न सक्ने हुनाले अधिकांश लोकतान्त्रिक देशमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने उहाँको जिकिर थियो ।

कोइरालाले विलासिताको सामानले विदेशी सञ्चिती कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरूप निलम्वन गरिनु गैरजिम्मेवारी भएको बताउनुभयो ।

कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरूमाथि पनि प्रश्न गर्नुभयो । सरकारले राजदूतमा गरेको नियुक्ति संविधानविरुद्ध भएको र त्यसमा समावेशीता कही पनि नदेखिएको उहाँको आरोप छ ।

कोइरालाले नेपाल टेलिकमको प्रवन्ध निर्देशक ओम्नी काण्डमा मुछिएको व्यक्ति भएको र विवादित व्यक्तिलाई नियुक्ति गर्नुको कारण सरकारले जनतालाई दिनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी भएको भन्दै कोइरालाले कम्युनिष्ट पार्टीले जस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने बताउनुभयो ।