
काठमाडौं । आज (बुधबार)को ठीक एक महिनामा स्थानीय निकायको चुनाव हुँदैछ ।
सुरक्षित ढङ्गले चुनाव सम्पन्न गर्न लाखौं सुरक्षाकर्मीको बन्दोबस्त गरिएको छ । तिनै सुरक्षाकर्मीमध्ये म्यादी प्रहरी यतिबेला शारीरिक अभ्यासमा छन् ।
म्यादीमा छनोट भएकामध्ये केही शिक्षित बेरोजगार भेटिए भने कतिपय लालाबाला स्याहार्ने बाध्यताले चुनौती मोल्न तयार थिए ।
तनहूँ निवासी राधिका थापा म्यादी प्रहरीमा भिड्न तम्सिएकी छन् । उनका श्रीमान् खाडी मुलुकमा काम गर्छन् । कठिन परिश्रम गरेर पतिले घरव्यवहार चलाउन पैसा त पठाउँछन् ।
तर, उनी आफैं थोरै भए पनि सन्तानको पालनपोषणमा सघाउन फौजी बन्ने निधो गरेकी हुन् । यो पैसाले सानो भए पनि गर्जो टर्ने उनको बुझाइ छ ।
छनोट प्रक्रिया जटिल भए पनि घरव्यवहार टार्ने चुनौतिका अघि शारीरिक श्रम निम्छरो सावित भएको छ । स्थानीय चुनाव लक्षित गरी नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी छनोट गरेको छ ।
७७ वटै जिल्लाबाट छनोट भएका उनीहरूको प्रारम्भिक तालिम शुरु भइसकेको छ । विभिन्न समूह बनाई शुरु गरिएको तालिम भूतपूर्व सेना र प्रहरीको सहयोगमा भइरहेको छ ।
म्यादीमा बारम्बार भर्ना भएका र सामान्य जीवन यापन गरेका जो पहिलो पटक छनोट भएकाको हकमा भने तालिम चुनौतीपूर्ण देखिएको छ । यद्यपि बेरोजगार भई बसेकाहरू छनोट भएकोमा भने खुशी छन् ।
म्यादीमा १८ बर्षदेखि ४९ बर्षका सम्म सहभागी छन् । जसमा अधिकांश प्लस टु सम्मको पढाई पूरा गरेका र केही डीग्री सम्मको पढाइ गरेकाहरू पनि भेटिए । कोही भने परिवारले नचाहँदा नचाहँदै पनि आफ्नो सपना पूरा गर्न आएका छन् ।
म्यादीमा १ लाखका लागि भर्ना खोलिएकोमा २ लाख ९३ हजारको दरखास्त परेको थियो ।
प्रतिक्रिया दिनुहोस्