
तेह्रथुम । प्रदेश नं. १ मा राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गमा सडक निर्माणको काम द्रुत रूपमा अगाडि बढेको छ । विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्गमा सडक निर्माणको कामले गति लिएको हो ।
मध्यपहाडी लोकमार्ग तेह्रथुम जिल्लामा १ सय १९ किलोमिटर क्षेत्रफल बिस्तार भइरहेको छ । यतिवेला वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्गमा जारी सडक विस्तारको कार्यले गति लिएको छ । यो लोकमार्ग अन्तर्गत म्याङलुङ–वसन्तपुर सडक खण्डमा धमाधम कालोपत्रे गर्न थालिएको छ ।
२६ किलोमिटरको दुरीमा रहेको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्म ३ खण्डमा सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ । जसमा बसन्तपुरदेखि लसुनेसम्मको १० किलोमिटर र लसुनेदेखि जिरिखिम्ती बजारसम्मको ११ किलोमिटर गरि २१ किलोमिटर सडकमा कालोपत्रेको कार्य सम्पन्न भइसकेको छ । बाँकी खण्डमा धमाधम काम भइरहेको छ ।
सडक स्तरोन्नति र कालोपत्रे गर्न अर्थ मन्त्रालयले दुई अर्ब सात करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सडकखण्डको पहिलो खण्ड वसन्तपुर–लसुनेमा कालिका भभेश्वर जेबी कन्स्ट्रक्सनले १० किलोमिटर, लसुने–जिरिखिम्ती–बगाले खण्डको १० दशमलव चार किलोमिटरमा आशिष आश्रय जेभी निर्माण सेवाले कालोपत्रे गर्ने कार्य सम्पन्न गरिसकेका छन् भने जिरिखिम्तीदेखि बगाले–म्याङ्लुङ खण्डको ५ किलोमिटर सडकखण्ड अमर मा जानकी जेभी निर्माण कम्पनीले बेस बिछ्याउने साथै केही स्थानमा कालोपत्रे गर्ने कामलाई तीव्रता दिएको छ ।
पाँचथरको चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म निर्माणाधिन मध्यपहाडी लोकमार्गको दुरावस्थाका कारण पछिल्लो समय स्थानीय र यात्रुहरुले निकै हैरानी झेल्दै आएका थिए। तर, निर्माण कार्यले गति लिएपछि हाल अवस्था फेरिएको छ । सडक कालोपत्रे भएपछि औषधी–उपचार, मालसामान ढुवानी र आवागमनमा निकै सहजता थपिएको छ ।
२४ जिल्ला जोड्ने मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष ०६४/६५ बाट सुरु गरिएको हो । लोकमार्गले छुने पाँचथरको फिदिम, तेह्रथुमका वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकमकर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई अत्याधुनिक शहरको रुपमा विकास गर्ने सरकारी योजना छ ।
प्रतिक्रिया दिनुहोस्