१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मिथिला क्षेत्रमा जुडशितल पर्व आज मनाइँदै


104
Shares

काठमाडाैं । मिथिला क्षेत्रमा प्रकृति पूजाको रुपमा मनाइने जुडशितल पर्व आज (शुक्रबार) हर्षोल्लासका साथ मनाइँदै छ ।

साे पर्वको अवसरमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफू भन्दा कान्छोलाई शिरमा जलसिँचन गरी आशिर्वाद दिने चलन छ । आ–आफनो घर आँगनमा रहेको पोखरी र इनारहरुको सफाईको साथै हिलो खेलेर मनोरञ्जन गर्ने गर्दछन् ।

सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्ने विश्वासका साथ यो पर्व मनाइन्छ । यो पर्वमा सूर्य उदाउनुअघि आमाबुवा, काकाकाकी र हजुरबुबा तथा हजुर आमाले एक हातमा शुद्ध जलको कलश लिएर अँजुलीमा पानी राखि परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा हात राखेर आशिर्वाद दिन्छन् । बिक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति) मा ‘जुडशितल’ पर्व मनाइन्छ ।

२ दिन मनाइने पर्व पहिलो दिन (सङ्क्रान्तिका दिन) ‘सतुवाइन’ र भोलिपल्टलाई ‘जुडशीतल’ भनिन्छ । यो पर्व कृषिसँग सम्बन्धित रहेको जानकारहरुको कथन छ । बढ्दो गर्मीकाबीच ‘शितल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय रहेकोले यो पर्वलाई ‘जुडशीतल’ भनिएको संस्कृति अभियन्ता एवम् प्रदेश सभा सदस्य राम अशिष यादव बताउनुहुन्छ ।

उहाँले प्रकृतिले मानवलाई धेरै कुरा दिने गरेपनि मानवले प्रकृतिको संरक्षणमा खासै ध्यान नदिने गरेको बताउनुभयो । उहाँले सरकारले पनि प्रकृतिको संरक्षणमा ध्यान नदिएको र तत्काल यस पर्वलाई संस्थागत गरेर प्रकृतिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । त्यस अवसरमा चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण र अनिवार्य मानिन्छ । मानवले प्रकृतिलाई संरक्षण गर्नुपर्ने यसको नै आवश्यकता रहेको छ ।

जल जमीनबिना मानवको विकास सम्भव नरहेको र अहिले जल जमिन विनास भइरहेकाले त्यसले विपदहरु समेत निम्तयाउने गरेको प्रदेश नीति आयोगका उपाध्यक्ष प्रा. डा भोगेन्द्र झाले बताउनुभयो । उहाँले यसको संरक्षण गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

बढ्दो गर्मी र तातो हावाबीच सुरु हुने बिक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिली परम्परा छ। नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् । सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरू (मिथिलावासी) साथीसङ्गीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन् ।

जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । दोस्रो दिन घरका परिवारजन आफ्नो खेतबारी डुल्छन् ।