१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


अब उपभोक्ताले पाउने छन् आधा भरेको ग्यास


0
Shares

काठमाडौं, चैत १४ । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो ।

नेपाल आयल निगमले आज ७।१ किलो ग्यास भएको सिलिन्डरको नयाँ मूल्य तोकेको छ । निगमका अनुसार तराई क्षेत्रबाहेक काठमाडौं उपत्यकालगायतका अन्य स्थानमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर ६८७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै तराई क्षेत्रका लागि प्रतिसिलिन्डर ६७७ रुपैयाँ ५० पैसा र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रतिसिलिन्डर रु. ६७० तोकिएको छ ।

यसअघि बजारमा १४।२ किलो ग्यास भएको सिलिन्डर बिक्री वितरण हुँदै आएको थियो ।  नाकाबन्दीको समयमा पनि ग्यासको चरम अभाव भएपछि केही समय आधा सिलिन्डर ग्यास प्रयोगमा ल्याइएको थियो ।

सरकारको निर्णयसँगै ग्यास उद्योगीले आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउन थालिसकेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

“सबै जनताको घरमा चुल्हो बलोस् भनेर नै आधा सिलिन्डर ग्यास बजारमा पठाउन लागेका हौँ”, उनले भने, “बजारमा पठाइएका आधा सिलिन्डर ग्यास स्थानीय प्रशासनको रोहबरमा बिक्री वितरण हुन्छन् ।” रासस