७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम पराजित


91
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम हट्सपर पराजित भएका छन् ।

संघर्षपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले नरिच सिटीलाई ३–२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोको यो करियरको ६० औं ह्याट्रिक हो ।

खेलको सातौं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा केइरन डोवेलले गोल गर्दै नर्विचलाई २–१ को स्थितिमा ल्याए । ५२ औं मिनेटमा नर्विचका टिमु पुकीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि ७६ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३–२ को जित दिलाए ।

शनिबार राति नै भएको अर्को खेलमा आर्सनललाई साउथह्याम्पटनले १–० ले पराजित गरेको छ ।

साउथह्याम्पटनलाई जित दिलाउन जान बेड्नारेकले निर्णायक गोल गरे ।

खेलको ४४ औं मिनेटमा बेड्नारेकले गोल गरेका थिए ।

यसैगरी, ब्राइटनले टोटनह्याम हट्सपरलाई १–० ले पराजित गरेको छ ।

खेलको इन्ज्युरी समयमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

अर्काे खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डमाथि २–१ को जित निकालेको छ ।

शनिबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३१ खेलबाट ७४ अंक जोडेको म्यानचेस्टर सिटी पहिलो तथा ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा यथावत् छन् । एक खेल कम खेलेको चेल्सी ६२ अंकसहित तेस्रो स्थानमा छ । ३२ खेलबाट ५७ अंक जोडेको टोटनह्याम चौथो स्थानमा रहँदा ५४ अंक जोडेका म्यान्चेस्टर युनाइटेड र आर्सनल क्रमशः पाँचौ तथा छैटौं स्थानमा रहेका छन् ।