२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झापामा स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन


39
Shares

झापा । राष्ट्रियस्तरको गठबन्धन कसिलो बन्दै जाँदा सधै राजनीतिको चर्चाको शिखरमा रहने झापामा यसपटक स्थानीय तहको निर्वाचनमा फरक परिणाम आउने आंकलन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका नेताद्वय कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला भएका कारण पनि झापा बहसको केन्द्रमा रहँदै आएको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिको रुपमा रहेको नेकपा एमालेले सातवटा स्थानीय तहमा प्रमुख र ११ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो । नेपाली कांग्रेसले पाँच स्थानमा प्रमुख र २ स्थानमा उपप्रमुख तथा राप्रपाले तीन वटा स्थानमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो ।

२०७४ सालमा भएको निर्वाचनमा ८ नगरपालिकामध्ये ६ वटा नगरपालिका अर्जुनधारा, कनकाई, दमक, भद्रपुर, बिर्तामोड र शिवसताक्षीमा एमालेले जीत हासिल गरेको थियो । त्यसमा पनि पाँच नगरपालिका बिर्तामोड, भद्रपुर, अर्जुनधारा, दमक र कनकाईमा प्रमुख, उपप्रमुख दुवै पद नेकपा एमालेले हात पारेको थियो ।

सात गाउँपालिकामध्ये नेकपा एमालेले एउटा मात्रै गाउँपालिकामा प्रमुख र उपप्रमुख पद आफ्नो पक्षमा पारेको थियो । कमल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेपनि अन्य छ वटा गाउँपालिकामा नेपाली कांग्रेस र राप्रपाले जीतेका थिए । नेकपा एमालेले सात गाउँपालिकामध्ये तीन वटा पालिकामा उपाध्यक्ष पदमा चुनावी बाजी मारेको थियो । समग्रमा हेर्ने हो भने २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापाका १५ पालिकामध्ये नेकपा एमालेले सात वटा स्थानीय तहमा प्रमुख पदमा विजयी हासिल गरेको थियो भने ११ वटा स्थानीय तहमा उपप्रमुख पद जितेको थियो । यता दोस्रो शक्तिका रुपमा देखा परेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा १५ स्थानीय तहमध्ये सात स्थानमा प्रमुख पद जितेको थियो भने उपप्रमुख पदमा दुई वटा स्थानीय तहमा मात्रै जित हासिल गरेको थियो । नेपाली कांग्रेसले नगरपालिकातर्फ गौरादह र मेची नगरपालिकामा जितेको थियो भने गाउँपालिकातर्फ झापा, बाह्रदशी र बुद्धशान्ति गरी तीनवटा स्थानीय तहमा पकड जमाएको थियो । वाह्रदशीमा अध्यक्ष र उपाध्यक्ष पदमा जीत हासिल गरेको कांग्रेसले गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष पद मात्रै जित हासिल गरेको थियो । सात वटा प्रमुख पदसहित ३८ वटा वडामा वडाध्यक्ष आफ्नो बनाएको कांग्रेसले अहिले गठबन्धन दलसंग साझेदारी गर्दै नेकपा एमालेलाई एउटा पनि स्थानीय तहमा जित्न नदिने रणनीत बनाउँदै छ ।

तेस्रो शक्तिको रुपमा झापामा राप्रपा स्थापित छ । राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो भने गौरीगञ्ज र हल्दिवारीमा अध्यक्ष पद राप्रपाले नै जीत हासिल गरेको थियो । १३१ वटा वडा रहेको झापामा एकीकृत नेकपा माओवादी केन्द्रले ६ वटा वडामा मात्रै वडाध्यक्ष पद जितेको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा एकीकृत नेकपा माओवादी केन्द्र झापामा कमजोर देखिएको छ । तथापि नेकपा माओवादी केन्द्रले संगठन विस्तारलाई सुदृढ गर्दै अघि बढेसँगै यसपटकको स्थानीय तहको निर्वाचनमा उपस्थिति बलियो रहने बताइन्छ । यसअघि भएको निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने नेकपा एमाले अहिले पनि पहिलो शक्तिको रुपमा देखापर्न सक्छ । तर, नेकपा एमालेभित्रको विभाजन र सत्ता साझेदार दलहरुबीच राष्ट्रियस्तरको गठबन्धनका कारण झापामा नेकपा एमालेले अपेक्षाकृत मत प्राप्त गर्न नसक्ने एकथरीले विश्लेषण गर्दै आएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दवदवा रहेको गृह जिल्ला झापामा पार्टी विभाजित भएपछि त्यसको असर तल्लो तहसम्म परेको प्रष्ट छ । नेकपा एकीकृत समाजवादीले झापाका सबै स्थानीय तह र वडाहरुमा पार्टी संठगन विस्तार गर्दै लगेपछि एमालेको शक्ति क्षयीकरण हुने निश्चित छ । राष्ट्रियस्तरको गठबन्धन कार्यदलको निर्णय अनुसार झापामा पनि वैठक बसिरहेको छ । जसले पाँच दलीय एकतालाई बलियो बनाउँदै लैजाने अवस्था बन्दै गएको छ । दलीय गठबन्धनलाई बलियो बनाउन नेपाली कांग्रेस झापाको अगुवाइमा अहिले निरन्तर दलका नेतासँग छलफल र संवाद भइरहेको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जानकारी दिनुभयो ।

एकीकृत समाजवादी पार्टी मूलतः एमालेको बिद्रोही पार्टी भएका कारण एमालेले जितेका स्थानमा एकीकृत समाजवादी पक्षका उम्मेदवारलाई अगाडि सारे जित सुनिश्चित गर्न सजिलो हुने भन्दै नेकपा एकीकृत समाजवादी लागिपरेको छ । एमालेको मत काट्न एमालेकै विद्रोही उम्मेदवार चाहिने भन्दै नेकपा एकीकृत समाजवादी समुचित र सन्तुलित व्यवहारसहित गठबन्धनलाई कसिलो बनाउँदै नेकपा एमालेलाई पाखा लगाउने दाउमा छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित नेकपा एमाले आफ्नो विरासत जोगाउन चाहन्छ । जसका लागि जस्तोसुकै परिस्थिति आए पनि परिणाम आफ्नो पक्षमा ल्याउन नेकपा एमालेले कुटनीतिक योजना बनाएर अघि बढ्ने पार्टीका अध्यक्ष दीपक कार्की बताउनुहुन्छ ।

कम्युनिष्टहरुको उद्गम जिल्लाको रुपमा चिनिएको झापामा गठबन्धन कसिलो रुपमा अगाडि आएमा एमालेलाई ठूलै धक्का पुग्ने विश्लेषण हुँदै आए पनि नेकपा एमाले आफ्नो बिरासत जोगाएर झापालाई लालकिल्ला कायम गर्न चाहन्छ भने सत्तारुढ दल नेपाली कांग्रेस भने नेकपा एमालेलाई एक सिट पनि जित्न नदिने रणनीतिमा अघि बढेको छ ।

यता अघिल्लो निर्वाचमा तेस्रो शक्तिको रुपमा देखापरेको राप्रपा पर्ख र हेरको स्थितिमा छ । नेकपा एमालेका अध्यक्ष ओलीको निर्वाचन क्षेत्र दमक नगरपालिकासहित केही पालिकामा उम्मेदवारको टुङ्गो लगाएको राप्रपासँग निर्वाचनमा तालमेल गर्ने भन्ने विषयमा टुङ्गोमा पुग्न सकेको छैन ।

अघिल्लो निर्वाचनमा झापाका १५ स्थानीय तह र १३१ वटा मध्ये ६ वटा वडामा मात्रै वडाध्यक्ष जित्न सफल एकीकृत नेकपा माओवादी एमालेको मत काट्तै आफ्नो उपस्थिति बलियो बनाउने दाउमा छ । आफैं सत्तारुढ दल त्यसमा पनि कांग्रेस संगको गठबन्धनले एमालेलाई पाखा लगाउँदै आफ्नो उपस्थिति बलियो बनाउने रणानीतका साथ माओवादी अघि बढेको छ ।

निर्वाचनको मिति नजिकिदै जाँदा समेत स्थानीय तहको निर्वाचनका लागि राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले केही पालिकामा उम्मेदवार टुङ्गगो लगाएपनि अन्य पार्टीले आफ्ना उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् । हरेक पालिकामा आकांक्षी धेरै भएकै कारण दलहरु उम्मेदवार छनौटमा अझैं अलमलमा छन् । नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक छलफललाई तीब्र बनाएको छ भने नेकपा एमालेले आन्तरिक निर्वाचन नै गर्नुपरेको छ । पार्टीभित्रै उम्मेदवार छनौटमा रस्साकस्सी भएपछि निर्वाचनको मिति नजिकिँदै जाँदा समेत दलहरु उम्मेदवार छनौटमा नै अलमलिरहेका छन् । कतिपय जनप्रतिनिधिले दोहो¥याउने अडान राखेपछि झापामा उम्मेदवार छनौटमा नै सकस देखिएको हो ।

निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय झापाले समेत निर्वाचनको तयारीलाई तीव्र बनाएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपटक झापामा एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा ६ लाख ४६ हजार २ सय ३४ जना कूल मतदाता रहेका छन् । जसमा पुरुषको भन्दा महिलाको संख्या बढिरहेको छ । महिला मतदाता मात्रै ३ लाख २४ हजार ७ सय ५ जना छन् भने पुरुष मतदाताको संख्या ३ लाख २१ हजार ५ सय २० जना रहेका छन् । झापामा अघिल्लो निर्वाचनमा ५ लाख १० हजार २ सय १६ जना मतदाता रहेका थिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा ७ सय ५५ मतदान केन्द्र र २ सय ८६ मतदानस्थल तोकिएको छ । सोही अनुसार झापामा रहेका राजनीतिक दल अहिले आफ्नो पक्षमा परिणाम ल्याउन दौडधुप गरिरहेका छन् ।