
काठमाडौं, चैत १५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले चिकित्सकहरुको उच्च सम्मान गर्न र संकटका बेला बल नभई विवेक प्रयोग गर्न आह्वान गरेका छन् ।
कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जालाई १० बुँदे निर्देशन दिँदै प्रधानसेनापति थापाले सबभन्दा पहिला आफू सुरक्षित रहन निर्देशन पनि दिएका छन् ।
संकटको घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबभन्दा पहिला आफूलाई सुरक्षित राख्न उनले निर्देशन दिएका हुन् ।
आफूलाई डेढ मिटरको शारीरिक दूरी कायम राख्न सुझाव दिँदै प्रधानसेनापति थापाले बिसञ्चो भए घरमै अथवा ब्यारेकमै बस्न भनेका छन् । उनले स्वास्थ्य परीक्षण गर्ने र शारीरिक दूरी कायम गरी आइसोलेसनमा बस्न सुझाएका हुन् ।
आधिकारिक सूचनामा मात्र विश्वास राख्न सुझाव दिँदै थापाले आफ्ना सबै सहकर्मीप्रति सहयोगको भावना राख्न र यसबारेमा बुझाउन भनेका छन् ।
चिकित्सकहरुलाई उच्च सम्मान गर्न अपिल गर्दै उनले भनेका छन्, ‘सबै नागरिकप्रति सदा आदरभाव देखाउनुहोस् आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने चिकित्सकहरूलाई उच्च सम्मान गर्नुहोस् । नेपाल सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौती दुबै हो,बहादुरी होइन बुद्धि र विवेकको प्रयोग गर्नुहोस् । नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वोच्च सेवाभाव देखाउनुहोस् ।’
प्रधानसेनापति थापाले संकटको यो घडीमा संयम र धैर्यता देखाउन आग्रह गर्दै कठिन समय केही अवधिका लागि मात्रै हो भन्ने ख्याल गर्न सुझाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्