३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


कांग्रेस कास्की सभापति बराल भन्छन् – गठबन्धन टुटेको छैन, म बैठकमै छु


507
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् । तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउँनुभएको छ ।

उनी अहिले पनि गठबन्धनकै बैठकमा छन् । ‘म बैठकमै छु । गठबन्धन टुटेको कुरा साँचो होइन,’ उनले भने, ‘सचिवहरूले किन त्यसो गर्नुभयो मैले बुझ्न पाएको छैन । विज्ञप्ति निकाल्न मसँग सल्लाह लिनुभएको होइन ।’

अहिले जिल्लाका पालिकामा बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताउनुभयो ।

कांग्रेसकै सभापतिको नेतृत्वमा बैठक बसिरहेको बेला बाहिरबाट आएका विज्ञप्तिले खासै असर नगर्ने उहाँले बताउनुभयो ।

‘गठबन्धनको बैठक चलिरहेको छ । सभापतिज्यू यहीँ हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘गठबन्धन टुटेको भए बैठक किन चलिरहन्थ्यो रु टुटेको छैन । यो कायम रहन्छ ।’

एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी गरेको छ । तर, कांग्रेसले भने जनमत नै नभएको पार्टीले मेयर माग्दा हारिने भन्दै कांग्रेसले नै मेयर पाउनुपर्ने अडान राखेको छ । दुई सचिवले एकीकृत समाजवादीको माग अस्वाभाविक भएकोले उसँग गठबन्धन नहुने विज्ञप्तिसहित जिल्लाका नेता कार्यकर्तालाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन् ।