१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभरका महानगरको जोडघटाउ : कसको अवस्था के ?


2.106k
Shares

काठमाडौं । वैशाख ३० गते ६ महानगर, ११ उपमहानगर, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी ७ सय ५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । तीमध्ये पनि महानगरपालिकाको चुनावमा धेरैको चासो छ ।

जनसंख्याको हिसाबले ६ महागरपालिकामा २५ लाखभन्दा बढी नागरिकको बसोबास र स्रोत तथा सामर्थ्यको कारणले सबैको ध्यान खिचेको छ । आकांक्षीहरूको तछाडमछाड चलिरहँदा दलहरूले उम्मेदवारको टुंगो लगाउन नसके पनि भोटको लेखाजोखा भने सुरु भइसकेको छ ।

६ वटा महानगरपालिकामध्ये अघिल्लो चुनावमा संघीय राजधानी काठमाडौ महानगरको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिष्पर्धी कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याउनुभएको थियो ।

उपप्रमुखमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्दी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत प्राप्त गर्नुभयो । काठमाडौमा एमाले र राप्रपाबीच गठबन्धन भएको थियो ।

उपत्यकाकै अर्को महानगर ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन २४ हजार ६४२ मत ल्याएर विजयी हुँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३१६ मत ल्याउनुभएको थियो । उपप्रमुखमा भने कांग्रेसकै गीता सत्याल १९ हजार ८१९ मतसहित विजयी हुनुभएको थियो ।

अघिल्लो निर्वाचनमा कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा एमालेका मानबहादुर जीसी ६० हजार ११८ ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा पनि एमालेकै मञ्जुदेवी गुरुङले ५६ हजार ४४८ ल्याएर विजयी हुनुभएको थियो ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिष्पर्धी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याउनुभएको थियो । उपप्रमुखमा भने कांग्रेसकी पार्वती शाह ठकुरी ४७ हजार १९७ मतका साथ विजयी हुनुभएको थियो ।

अघिल्लो निर्वाचनमा सर्वाधिक विवादित बनेको भरतपुर महानगरमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो ।

मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मेयरमा तत्कालिन संघीय समाजवादी फोरमका विजयकुमार सरावगीले १९ हजार ३९३ मतसहित विजयी हुँदा निकटतम् प्रतिष्पर्धी कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७ मत ल्याउनुभएको थियो । उपप्रमुखमा भने कांग्रेसकी शान्ती कार्कीले १९ हजार ६०७ मतसहित विजयी हुनुभएको थियो ।

मोरङको विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिष्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत ल्याउनुभएको थियो । उपप्रमुखमा कांग्रेसकै इन्दिरा कार्कीले २० हजार १४६ मत हासिल गरेर विजयी हुनुभएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि राजनीतिक दलहरूको अवस्था र समीकरणमा निकै परिर्वतन भइसकेको छ । यसबीचमा एमाले विभाजन भयो । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर बनेको जसपासमेत विभाजित भएर जसपा नेपाल र लोसपा नेपाल बनेका छन् ।

तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भइसकेको छ । यस्तै, तत्कालिन संघीय समाजवादीबाट प्रमुख जित्नुभएका वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश गर्नुभएको छ भने राजनीतिक दल अदलबदल जारी नै छ । अघिल्लोभन्दा यसपटको निर्वाचनमा मतदाता पनि उल्लेख्य थपिएका छन् ।