
काठमाडौं । नेकपा (एमाले)ले तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ ।
जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई बुधबार महासचिव शंकर पोखरेलले पत्र पठाएर स्थानीय तहमा चुनावी तालमेल गर्न निर्देशन दिनुभएको हो ।
एमालेले पठाएको पत्रमा राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषद्सँग सहकार्य गर्न निर्देशन दिइएको छ ।
स्थानीय चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग चुनावी तालमेल गर्ने निर्णय एमालेलेयसअघि नै गरिसकेको छ ।
यस्तै चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न एमालेले निर्देशन दिएको छ ।
उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गर्नुभएको एमालेले जनाएको छ ।
पार्टीको प्रभाव र अवस्था हेरेर आ–आफ्नो कार्यक्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयन गर्न एमालेले आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्