१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अग्निपरीक्षामा उम्मेदवार, उपमहानगरमा कसको अवस्था कस्तो ?


494
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगरपछि सबैभन्दा बढी चासो रहने स्थानीय तह उप–महानगर हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा देशभरका ११ उपमहानगरमध्ये नेकपा एमालेले इटहरी, जीतपुरसिमरा, हेटौडा, बुटवल, घोराही र तुलसीपुर गरी ६ उपमहानगरको नेतृत्व जितेको थियो ।

नेपाली कांग्रेसले धरान, कलैया र धनगढी गरी ३ उपमहानगरमा जित हासिल गर्दा तात्कालिन राष्ट्रिय जनता पार्टीले जनकपुर र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगञ्ज उपमहानगरको नेतृत्व लिन सफल भएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनुषाको जनकपुर उपमहानगरको मयेरमा तात्कालिन राजपाका उम्मेद्वार लालकिशोर साह २१ हजार ९ सय ३ मत ल्याएर विजयी हुनुभएको थियो । निकटतम् प्रतिस्पर्धी मनोजकुमार साहले ११ हजार १ सय ६४ मत ल्याउनुभएको थियो ।

सुनसरीको धरान उपमहानगरपालिका २०७४ को निर्वाचनमा एमालेलेका तारा सुब्बाले जितेपनि उहाँको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई २६ हजार ७ सय ९ मत ल्याएर विजयी हुनुभयो । निकटतम् प्रतिद्धन्दी तात्कालिन नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाउनुभयो ।

सुनसरीकै इटहरी नगरपालिकाको मेयरमा २२ हजार ६ सय ७९ मतसहित नेकपा एमालेका द्वारिकलाल चौधरी विजयी हुँदा निकटतम् प्रतिष्पर्धी कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९ सय ८५ मत पाउनुभयो ।

बाराको कलैया उपमहानगरपालिकामा गत निर्वाचनमा कांग्रेसका उम्मेदवार राजेशराय यादव १० हजार ९ सय ३ मतसहित चुनिदा एमाले उम्मेदवार विनोदप्रसाद साह १० हजार ७ सय १६ मतसहित उपविजेता हुनुभएको थियो ।

बाराकै जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा १४ हजार ८ सय ६५ मतसहित नेकपा एमालेका उम्मेद्वार कृष्ण पौडेल विजयी हुनुभएको थियो । प्रतिद्धन्द्धी कांग्रेसका कृष्णव्रत सिंहले ११ हजार ९ सय ९५ मत पाउनुभयो ।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १ सय २४ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय मत पाउनुभएको थियो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार शिवराज सुवेदी २३ हजार २ सय ४९ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका खेमराज पाण्डेयले २० हजार ८ सय ५१ मत ल्याउनुभएको थियो ।

दाङको तुलसीपुर उपमहानगरमा एमालेका घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत पाउनुभएको थियो ।

जिल्लाकै अर्को उपमहानगर घोराहीमा गत निर्वाचनमा एमालेका नरुलाल चौधरी २२ हजार ३० मतसहित विजयी हुँदा कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४ सय ८४ मत पाउनुभयो ।

गत स्थानीय तह निर्वाचनमा राप्रपाका उम्मेदवार धवलशमशेर राणा १२ हजार ५ सय १५ मतसहित नेपालगञ्ज उपमहानगरको मेयरमा निर्वाचित हुनुभएको थियो । जबराका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मत हात पार्नुभयो ।

कैलालीको धनगढी उपमहानगरको प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३ सय २४ मतसहित विजयी हुँदा निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५ सय २७ मत पाउनुभएको थियो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ ।