१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं मेयरका लागि कांग्रेसबाट सिर्जना सिंहसहित पाँचको नाम सिफारिस, तीर्थराम डंगोल समेटिएनन्


936
Shares

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो ।

सत्ता गठबन्धनमा काठमाडौं महानगरको मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको छ । तर, कांग्रेसले उपप्रमुखमा सुशीला ढकाल र प्रा.डा. अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ।

समितिले एक नम्बरमा वडाध्यक्ष समेत रहेका शाक्य, दोस्रो नम्बरमा सिंह, तेस्रो नम्बरमा काठमाडौंकी उपमेयर खड्गी, चौथो नम्बरमा वैद्य र पाँचौं नम्बरमा रञ्जितको नाम सिफारिस गरेको छ ।

तर, काठमाडौं मेयरका लागि चर्चामा रहेका तीर्थराम डंगोलको नाम सिफारिससमेत गरिएन । पूर्वमन्त्रीसमेत रहेका डंगोल संस्थापन पक्षका नेता हुनुहुन्छ । सोही कारण महानगर समिति सभापति शाक्यले उहाँको नाम सिफारिसमा नगरेको कांग्रेस काठमाडौंका एक नेताले बताए ।

सिफारिस भएका रञ्जितबाहेक चारैजना प्रकाशमान सिंह निकट नेता हुनुहुन्छ । कांग्रेसबाट काठमाडौं मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित रहेको नेताहरू बताउँछन् ।