१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पशुपतिमा निःशुल्क शवदाह सेवा


0
Shares

काठमाडौ., चैत १७ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ ।

पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट, आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई निःशुल्क शवदाहको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको रु. एक हजार ५०० शुल्क लाग्छ । यसैगरी आर्यघाटमा रु. एक हजार ९०० शुल्क लाग्छ ।

दाउरा भने आवश्यकतानुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौ मा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए ।

पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु. २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ ।

दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने ९लोड अनलोड० को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले जानकारी दिए ।

यसअघि बेखर्ची भनी वडा कार्यालयको सिफारिस लिई आउनेलाई विभिन्न सामाजिक संस्थाले खर्च दिएर विद्युतीय शवदाह गृहमा निःशुल्क शवदाह गर्ने व्यवस्था गरिएको थियो ।

लकडाउनका समयमा ती संस्थासँग बेखर्चीको सम्पर्क हुन नसक्ने भएकाले कोषले नै निःशुल्क गर्ने व्यवस्था गरेको हो । रासस