९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


गठबन्धनले कांग्रेसभित्र कलहः देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म


2.691k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । कांग्रेसका स्थानीय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गदै आएका छन् ।

वैशाख ३० गते हुन गईरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि गठबन्धनको नाममा अन्य दललाई नै भागबण्डामा पारिदिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढेको हो ।

विशषतः नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले माग नगरेका क्षेत्रमा पनि भागबण्डा गरेर कांग्रेसको संगठन कमजोर बनाएको भन्दै स्थानीय तहमा राजीनामा र तालाबन्दीको लहर चलेको हो ।

चितवनको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा दिने निर्णय अघि र पछि चितवन कांग्रेसले विरोध र आपत्ति जनाउँदै आएको थियो । तर, केन्द्रीय गठबन्धनले स्थानीय तहको आग्रहविपरित भरतपुर माओवादीलाई दिएपछि चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरिएको छ ।

केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेललगायतका नेताहरूको उपस्थितिमा सो तालाबन्दी गर्दै केन्द्रीय निर्णय सच्चाउन माग गरेका छन । २ सय ५० भन्दा बढी कार्यकर्ताले सामुहिक राजिनामा दिँदै स्वतन्त्र अभियानको घोषणा गरिसकेका छन् ।

जनकपुरको नकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई भागबण्डा पारेको भन्दै नगर सभापति मनोजकुमार साहसहित २ सय ५० जना भन्दा बढीले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।

शुक्रबार जनकपुरधारमा पत्रकार सम्मेलन गर्दै नगरसभापति साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभयो ।

कांग्रेसको नेतृत्व छाडेर अन्यलाई टिकट दिएको भन्दै कैलालीस्थित धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना क्रियाशिल सदस्यले सामूहिक राजीनामाको घोषणा गरिसकेका छन् ।

यसैगरी, वीरगञ्ज महानगरपालिकासहित पर्साका १६ वटै स्थानीय तहमा कांग्रेस एक्लै लडने निर्णयसहित नगर समितिले पत्रकार सम्मेलनमार्फत घोषणा नै गरिसकेका छन् ।

मधेस प्रदेशको १ मात्र महानगर वीरगञ्ज जसपा नेपाललाई दिने संकेत पाउने बितिक्किै अघिल्लो बुधबार पत्रकारसम्मेलन नै गरेर कांग्रेसले पर्सामा एक्लै चुनाव लड्ने निर्णय गरिसकेको थियो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले माग नगर्दा पनि सो पार्टीलाई हेटौंडा भागबन्डामा पारेको भन्दै मकवानपुर कांग्रेस आक्रोशित हुन पुगेको छ ।

यसैगरी, पोखरा महानगरपालिकाको मेयर नेकपा एसलाई भागबन्डामा परेपछि आक्रोशित कांग्रेस कार्यकर्ताले बुधबार तालाबन्दी गरेका थिए ।

पूर्वमन्त्री यज्ञवहादुर थापालगायतका नेता काठमाडौं आएर सभापति देउवालाई पोखरा नछाड्न आग्रह गर्दागर्दै पनि नेकपा एसलाई दिईएको भन्दै आक्रोशित कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पाँच दलीय गठबन्धन बन्नका लागि दिइएको दबाब नगर, क्षेत्र र जिल्लाले अस्वीकार गर्दै सबै स्थानीय तहमा एकल रुपमा नाम सिफारिस गरेको छ ।

तीन पटक बसेको गठबन्धन बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि कांग्रेसले एकल रुपमा नगरपालिका र गाउँपालिकाका मेयर उपमेयरको नाम सिफारिस गरेर प्रदेश कमिटीलाई पठाएको छ । तर, गठबन्धन र आन्तरिक द्वन्द्वका कारण राजपुर फरहदवा र बिजयपुर फतुवाका मेयरले कांग्रेस परित्याग गरी क्रमशः नेकपा एमालेमा आवद्धता र स्वतन्त्र भएको घोषणा गरेका छन् ।