
नवलपरासी । निर्वाचन बिरोधी कार्यक्रममा सहभागी भएका मोहन बैद्य समुहका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार पश्चिम नवलपरासीको सुनवल बजारमा आयोजना गरिएको कोणसभाबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्ने बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
बैद्य समुहले स्थानीय तह निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको छ । कोणसभा उक्त समुहको लुम्बिनी प्रदेश समितिले आयोजना गरेको थियो ।
पक्राउ पर्नेमा बैद्य समुहका केन्द्रीय पोलिट ब्युरो सदस्य धमेश्वर पोखरेल (प्युठान), स्थानीय समिति सदस्य रामसिंह श्रीष (बुटवल), मोहनलाल शर्मा, रामचन्द्र पोखरेल, पवित्रा बस्ती, रवि पुन रहेका छन् ।
त्यसैगरी, ऋषिराम बि.क., चन्द्रमान मानन्धर, यमबहादुर गुरुङ र रवि पाण्डे रहेका छन् ।
पक्राउ परेका रवि पाण्डे पत्रकार हुन् । उनी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका पूर्व कोषाध्यक्ष समेत हुन् । पाण्डेले आफू फोटो खिच्न गएको बखत पक्राउ परेको जनाएका छन् । प्रहरीले भने कार्यकर्ताको रुपमा कार्यक्रममा सहभागी भएकाले पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्