
चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का हरिप्रसाद दुलालले मनोनयन दर्ता गराउनु भएको छ ।
मनोनयन दर्ताको पहिलो दिन सुरुमै दुलालले महानगरको प्रमुख पदमा मनोनयन दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
उहाँले बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराउनु भएको हो ।
दुलालको प्रस्तावकमा रविनकुमार प्रधान र समर्थकमा श्यामकृष्ण खयरगोली रहनु भएका छन् । महानगरको उपमेयरमा भने नेमकिपाले उमेदवारी दर्ता गरेको छैन ।
दुलालपछि राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङले महानगरको मेयरमा उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँको प्रस्तावकमा टेकबहादुर मगर र समर्थकमा रविन्द्र सिंह गुरुङ रहनु भएका छन् ।
यसैगरी, उपमेयर पदमा जनमुक्ति पार्टीकी मिना थापा मगरले मनोनयन दर्ता गर्नु भएको छ । उहाँको प्रस्तावकमा विमला राना र समर्थकमा सुमित्रा राना रहनु भएका छन् ।
राष्ट्रिय दलको मान्यता प्राप्त गरेको नेकपा एमाले र सत्ता गठबन्धनका दलले भोलि मात्र मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्