
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्र पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, नेताहरु महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, प्रकाश अधिकारी र दुर्गा सोबले संयुक्त रुपमा गर्नुभएको थियो ।
घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले स्थानीय तह निर्वाचनमार्फत् लोकतन्त्रलाई सही अर्थमा जनताको घर दैलोमा पु¥याउनु आफ्नो पार्टीको मुख्य ध्येय भएको बताउनुभयो । स्थानीय तहलाई टोल–टोलसम्म जनताको सहभागितामा सञ्चालन गर्ने बताउनुभयो ।
जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले जसपाले जितेको पालिकामा कृषिमा आधारित ग्रामिण स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । प्रत्येक पालिकामा ५० शैय्याको अस्पताल, प्रत्येक वडामा स्वास्थ्य चौकी र प्रत्येक व्यक्तिलाई स्वास्थ्य बीमा गराउने आफूहरुको योजना रहेको बताउनुभयो । प्रत्येक घरमा विद्युतिकरण गर्नेदेखि ग्रामिण वातावरणलाई सुधारेर स्वच्छ बनाउने सम्मका योजना पार्टीको घोषणापत्रमा रहेको उहाँले बताउनुभयो ।
जसपाले सुशासन र पारदर्शीतालाई स्थानीय तहमा स्थापित गराउन पार्टीको ध्यान जाने बताएको छ । स्थानीय तहको सेवालाई अझ प्रभावकारी बनाउँदै यातायातको सुविधा नभएको ठाउँमा घर–घरमा टोली पठाएर सेवा पु¥याउने घोषणापत्रमा उल्लेख गरिएको छ । विकास निर्माणको काममा प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर मात्र गरिने जसपाले उल्लेख गरेको छ । करको दायरालाई बढाएर करको दर घटाउने जसपाको घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी जसपाको घोषणापत्रमा पालिकाको वरिपरि रिङ रोड निर्माण गर्ने, पालिका र वडा जोड्ने सडक निर्माण गर्ने उल्लेख गरिएको छ । व्यवसायिक शिक्षालाई जोड दिदै हरेक पालिकामा एउटा नुमना माध्यामिक शिक्षा सञ्चालन गर्ने, हरेक स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा एउटा वर्थिङ सेन्टर स्थापना गर्ने, पाँच वर्ष भित्र पालिका भित्रका सबै जनतालाई स्वास्थ्य बिमा गरिने तथा विपन्न वर्गको लागि स्वास्थ्य बीमाको प्रिमियर पालिकाले तिरिदिने व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्