
काठमाडौं, चैत्र १८ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने भएका छन् ।
मंगलबार एक विज्ञप्ति निकाली पूर्वराजा शाहले २ करोड सहयोग गर्ने घोषणा गरेका हुन् । शाहले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘दुःख, कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।’
पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा पनि गरेका छन् । उनले यसलाई अझै प्रभावकारी बनाउन सल्लाह दिएका छन् ।
पूर्वराजा शाहले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गर्न आह्वान गर्दै भनेका छन्, ‘लकडाउन बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन’ ।
पूर्वराजा शाहले महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै आफ्नो वक्तव्यमा, ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ ।’ भनेका छन् ।
पूर्वराजाको वक्तव्यमा भनिएको छ, ‘विश्वमा अहिले देखापरेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ ।’
उनले आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोनाविरुद्ध लड्न अनुशासन तथा धैर्य दर्शाएकोमा उच्च सराहना पनि गरेका छन् ।
मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भएको पनि शाहले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्