१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


निर्वाचन आयोगलाई थोरै समयमा धेरै कामको जिम्मेवारी


117
Shares

काठमाडौं । चुनावी तिथि नजिकिएसंगै निर्वाचन आयोगको व्यस्तता बढेको छ । चुनाव हुने नहुने आशंका अन्त्य गर्दै आयोगले चुनावी सामग्री जिल्लातर्फ पठाउने क्रमलाई तीब्रता दिएको छ । ५० जिल्लामा त निर्वाचन सामग्री नै पुगिसकेको छ । बैशाख ३० गते हुने चुनावसँगै मुलुकभरका ३५ हजार २ सय १२ जनप्रतिनिधि चुन्ने दायित्व आयोगको काँधमा छ ।

राजनीतिक वृत्तमा महिनौंसम्म चुनाव हुने नहुने विषयमा माथापच्ची चलिरहँदा अन्योलमा रहेको निर्वाचन आयोगले छोटो समयमा तयारी गर्नुपर्ने भएपछि उसलाई असारे महिनाझैं भ्याइनभ्याई छ । प्रमुख निर्वाचन आयुक्त, आयुक्तदेखि निर्वाचन आयोगका कर्मचारी दिनरात नभनी चुनावी तयारीमा छन् । यो व्यस्तता केन्द्र, क्षेत्र, जिल्ला हुँदै तल्लो तहसम्म देखिएको छ । आयोग हाताभित्रको वातावरणले तयारी युद्धस्तरमा रहेको अनुभव गर्न सकिन्छ । दुर्गम क्षेत्रमा सेनाको हेलिकोप्टर र सुगममा सडकमार्गबाटै निर्वाचन सामग्री ढुवानी गरिदैंछ । यसपटकको चुनावमा दातृनिकाय र छिमेकी मुलुकबाट सहयोग सामग्री नजुटेपछि सरकारकै आन्तरिक श्रोतबाट चुनाव सम्पन्न गर्दै छ ।

आयोगअनुसार यसपटक चुनावी प्रयोजनका लागि एउटा पनि सवारी साधन खरिद भएको छैन । भएका सामग्री चुस्त दुरुस्त बनाएर काम चलाउने नीतिअनुसार आयोग चुनावी तयारीमा होमिएको छ । अब तोकिएको मितिमा निर्विघ्न ढंगमा चुनाव हुनेमा आयोग विश्वस्त छ ।

आयोगले देशका सातै प्रदेश र ७७ वटै जिल्लामा बैशाख ८ देखिनै निर्वाचन सामग्री ढुवानी थालेको हो । आयोगकाअनुसार बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म ढुवानीको काम धमाधम भइरहेको छ । हालसम्म ५० बढी जिल्लामा सामग्री पुगिसकेको निर्वाचन सामग्री ब्यबस्थापन युनिट प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले चुनावको मुखमा आफनो मातहत रहेका कर्मचारी अपुग भएपछि १ सय ४० सरकारी कर्मचारी थप गरी चुनावमा अर्जुनदृष्टि दिइरहेको छ । निर्वाचन सामग्री ढुवानीका लागि १ सय ७० वटा ठूला मालबाहक गाडी प्रयोगमा ल्याइएको छ ।

निर्वाचन सामग्रीे निगरानीमा सशस्त्र प्रहरीको टोली खटिएको छ भने सामान लोड गाडी सुरक्षा जिम्मा पनि सशस्त्र प्रहरीलाई नै दिइएको छ । आयोगको तयारी र उम्मेद्वारहरुको मनोनयन नै हुन थालिसकेपछि वैशाख ३० पछि स्थानीयले नयाँ नेतृत्व पाउने निश्चित भएको छ ।