१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंको मेयरमा स्थापित र श्रेष्ठ तथा उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता


3.627k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

यसैबीच नेकपा (एमाले)बाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुनुहुन्छ भने डंगोल पूर्व मिस नेवा हुनुहुन्छ ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनुभएको थियो ।

यस्तै, कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय गरेको थियो ।

वरिष्ठ कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रूपमा रहेको काठमाडौं नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिकहरूका लागि सबै वडाहरूमा ज्येष्ठ नागरिक बाटिका, बालबालिकाहरूलाई खेल्नका लागि उपयुक्त हुने खालका बाल बाटिका र युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो पार्टीले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको मान्यता लिएको र त्यसलाई आफूले शिरोधार्य गर्दै महानगरपालिकालाई भ्रष्टाचार मुक्त गराउन पनि आफू विजयी भएमा लागिपर्ने उहाँको संकल्प छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ ।