
भक्तपुर । जिल्लाको मध्यपुर थिमी नगरपालिकाको मेयर पदमा ज्वाइँ–जेठानको भिडन्त हुने भएको छ ।
नेकपा (एमाले)बाट मेयर पदमा उम्मेदवार मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुनुहुन्छ ।
मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुनुहुन्छ । मदनसुन्दर वर्तमान मेयर पनि हुनुहुन्छ । नेकपा (एमाले)ले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो ।
मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी हुनुभएको थियो । नेपाल मजदुर किसान पार्टीसँंग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी हुनुभएको हो ।
सो समयमा एमालेबाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागबण्डा लगाइएको थियो । तर, नेपाल मजदुर किसान पार्टीबाट उपमेयरका उम्मेदवार पराजित भएका थिए ।
यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टी बलिया दलहरू हुन् ।
प्रतिक्रिया दिनुहोस्