
रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक जनाको दाबी विरोधको उजुरी परेको छ ।
मंगलबार तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो ।
जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिनुभयो ।
सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी दिनुभएको हो । उहाँले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारी पत्र पेश नगरेको भन्दै उजुरी दिनुभएको अधिकारीले बताउनुभयो ।
आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने समेत उहाँले बताउनुभयो ।
उत्तरगया गाउँपालिका वडा नम्बर ३ मा एक जना दलित महिला सदस्यका लागि नेकपा एमाले र नेपाली कांग्रेसबाट एक–एक जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लाको अन्य स्थानीय तहमा भने कुनै पनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्