
इलाम । चार नगरपालिका र ६ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको इलाम देशको राजनीतिमा अग्रमोर्चामा छ ।
राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेपाली कांग्रेसका चर्चित नेता केबी गुरुङको गृहजिल्ला भएकाले पनि इलामको राजनीतिलाई महत्त्वका साथ हेरिएको छ ।
आगामी स्थानीय तह निर्वाचनमा जिल्लामा सत्ता साझेदार गठबन्धनका दलहरूबीच चुनावी तालमेल गरेर नेकपा (एमाले)लाई एक्ल्याएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक पालिकामा अध्यक्ष उपाध्यक्ष सहित दुई पालिकामा अध्यक्ष मात्र जितेको थियो ।
बाँकी पालिकामध्ये एकमा उपाध्यक्ष एमालेले अन्यमा प्रमुख उपप्रमुख पद जितेको थियो । २०७४ को निर्वाचनलाई हेर्दा जिल्लामा नेकपा (एमाले) बलियो देखिएको छ । विभाजनपछि भने एमालेलाई यस पटकको चुनाव फलामको चिउरासरह भएको छ ।
तर, एमाले इलामका जिल्ला सचिव रविन्द्र अधिकारी अझै पनि इलाम एमालेकै गढ रहेको दाबी गर्नुहुन्छ । उहाँले जिल्लाका अधिकांश पालिकामा फेरि पनि एमालेले सरकार चलाउने दाबी गर्नुभयो ।
अघिल्लो स्थानीय चुनावमा एकढिक्का भएर लड्दा कम्युनिष्ट पार्टीले जिल्लामा राम्रो नतिजा निकालेको थियो । इलाम नगरपालिका र देउमाई नगरपालिकामा प्रमुख र उप्रमुखमा एमालेको जित भएको थियो ।
यस्तै, चुलाचुली गाउँपालिकामा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हात पार्दा फाफोकथुमा गाउँपालिकामा भने उपाध्यक्षमा मात्र चित्त बुझाउनुपरेको थियो । त्यहाँको अध्यक्ष नेपाली कांग्रेसको पोल्टामा परेको थियो ।

उता, माइ नगरपालिका, माइजोगमाई गाउँपालिका र ठूलो नगरपालिकामा पनि एमालेले जित हात परेको थियो । तर, एमाले विभाजनपछि नगरप्रमुख सहित अधिकांश एमालेबाट निर्वाचित वडा अध्यक्षहरू एकीकृत समाजवादीमा समाहित भए । जसले इलाममा यसपटक सूर्य उदाउन मुस्किल पर्ने आँकलन गरिएको छ ।
यता रोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको कांग्रेसले माङ्सेवुङ गाउँपालिका र फाफोकथुम गाउँपालिकाको अध्यक्ष पनि जितेको थियो । तर, यसपटक भने गठबन्धनले जिल्लाका सबै पालिकामा झण्डा गाड्ने नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काको दाबी छ ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला भएकाले पनि एकीकृत समाजवादी संगठनको जरो यहाँ बलियो छ । यसले पनि यस पटकको चुनावी अंकगणित एमालेका लागि विगतको जस्तो सहज छैन ।
माओवादी केन्द्र पनि यसपटक नतिजा आफ्नो पोल्टामा ल्याउने दाउमा देखिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा खासै राम्रो नतिजा ल्याउन नसकेको पार्टीले यसपटक भने फरक नतिजा निकाल्ने जिल्लाका नेताको दाबी छ । जसका लागि विभिन्न रणनितिका साथ पार्टी निर्वाचनमा होमिएको माओवादी केन्द्र इलामका कार्यालय सचिव प्रकाश परियार बताउनुहुन्छ ।
यसैबीच, जिल्लामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि निर्वाचनमा भाग लिने भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले निर्वाचनमा भाग नलिने औपचारिक घोषणा गरे पनि वैशाख ८ गते जिल्लाको ६ पालिकामा स्वतन्त्र उम्मेदवार घोषणा पार्टी चुनावमा होमिएको छ ।
२ लाख २४ हजार ७ सय ४८ मतदाता रहेको इलाममा १७ दलले निर्वाचनमा भाग लिँदैछन् । १ सय ५१ मतदानस्थल रहेको जिल्लामा २ सय ८५ मतदान केन्द्र छन् ।
प्रतिक्रिया दिनुहोस्