
कैलाली । स्थानीय तहको आसन्न निर्वाचनका लागि कैलालीको धनगढी उप–महानगरपालिकामा पाँच दलीय गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उमेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वडले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका तर्फबाट रणबहादुर चन्द र स्वतन्त्र उमेदवार गोपाल हमाललगायतले मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनको तर्फबाट उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेबाट कन्दकला रानाले उमेदवारी दर्ता गराउनुभएको छ । यस्तै, व्यवसायी गोपाल हमालले पनि मेयर पदमा उमेदवारी दर्ता गराउनुभएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा २ हजार ७ सय मतले पराजित हुनुभएका स्वतन्त्र उमेदवार गोपाल हमाल यसपटक जनताले स्वतन्त्र व्यक्तिलाई नै विजयी गराउनेमा विश्वस्त हुनुहुन्छ । दलहरूबाट स्थानीय तहमा विकास सम्भव नभएको बताउँदै हमालले स्वतन्त्र उम्मेदवारकै पक्षमा मतदान हुने दाबी गर्नुभयो ।
यता, विद्यार्थी राजनीतिबाटै सक्रिय रहेका एमाले नेता रणबहादूर चन्दले मेयर पदको टिकट पाएसँगै धनगढीमा नयाँ तरङ्ग पैदा भएको छ । लामो राजनीतिक इतिहास बोकेका चन्द कार्यकर्ता र जनतामाझ निकै लोकप्रिय मानिनुहुन्छ । त्यसकारण पनि एमालेले जित्ने दावी गरिएको छ ।
पाँच दलीय गठबन्धन या स्वतन्त्र उमेदवार कसैले पनि एमालेसँग प्रतिस्प्रर्धा गर्र्न नसक्ने चन्दको भनाइ छ । पाँच वर्ष कांग्रेसले धनगढीको विकासका लागि कुनै ढाँचा बनाउन नसकेको दाबी गर्दै चन्दले सत्ता गठबन्धनको विकल्प एमालेनै रहेको बताउनुभयो ।
२०७४ सालको निर्वाचनबाट मेयर पदमा निर्वाचित भएका नेपाली काग्रेंसका नृपबहादूर वड सत्ता गठबन्धनको तर्फबाट पुनः मेयर पदमा अगाडी सर्नुभएको छ । उहाँले गठबन्धनको तर्फबाट मेयर पदमा उमेदवारी दर्ता गराउनुभएको छ ।
उमेदवारी दर्ता गराएसँगै वडले गत स्थानीय तह निर्वाचनमा एक्लै हुँदा विजयी भएको बताउँदै अब धेरै मतान्तरले बिजयी हुने दाबी गर्नुभयो ।
धनगढी उप–महानगरपालिकामा सत्ता गठबन्धन, एमाले र स्वतन्त्र उमेदवारबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यसको नतिजा, जनताले कसको पक्षमा ल्याउने छन् वैशाख ३० गतेपछि परिणाम आउनेनै छ ।
प्रतिक्रिया दिनुहोस्