
बारा । स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिने क्रम बढेको छ ।
दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले जनमत नरहेका आसेपासे र प्रलोभनमा परि कार्यकर्ताको चाहनाविपरीत टिकट वितरण गरिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ ।
विभिन्न तहमा रहेका एमाले र कांग्रेसका वडा तथा नगर कमिटीबाट स्थानीय नेताहरूले धमाधम राजीनामा बुझाउन थालेका छन् । स्थानीय नेताले पार्टीले आफ्नो कदर नगरेको भन्दै पार्टी परित्याग गरेका छन् । साथै उनीहरूले एकल तथा बागी उम्मेदवारी दर्ता गरेका छन् ।
केही स्थानीय तहमा बलियो उपस्थिति रहेको माओवादी केन्द्रमा भने कार्यकर्ताबीच असन्तुष्टि नभएको स्थानीय नेताको दाबी छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता अनिल श्रेष्ठले गठबन्धनको प्रयासमा आफूहरूले अधिकतम प्रयास गरेको बताउनुहन्छ ।
गठबन्धनले जिल्लाको जितपुरसिमरा, कलैया उपमहानगर, निजगढ नगरमा प्रमुख उपप्रमुख बलियो उम्मेदवारी प्रस्तुत गरे पनि जिल्लाका अन्य पालिका र वडाका उम्मेदवारीमा भने छलफल सकारात्म हुन सकेन ।
कांग्रेस जिल्ला उपसभापति मनोज भट्टले पार्टीमा योगदानको कदर नभएको तथा जनमत नहेरी नेतृत्वमा भागबण्डाको आधारमा टिकट बाँडेको आरोप लगाउनुभयो । माथिल्लो तहका राधेचन्द्र यादव, फरमुल्लाह मन्सुर र उमाकान्त चौधरीले भागबन्डा गरेर टिकट बाँडेको उहाँको भनाइ छ ।
त्यस्तै, नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अच्युत मैनालीले गठबन्धनलाई पराजित गर्नसक्ने वडादेखि नगरसम्मका बलिया उम्मेदवारलाई पाखा लगाएको कार्यकर्ताहरूकाे आराेप छ । पार्टी अध्यक्ष र महासचिव निकट भएकै आडमा एकलौटी रूपमा टिकट वितरण गरेको उनीहरू बताउँछन् ।
गत स्थानीस्य तह निर्वाचनमा जितपुरसिमरा उपमहानगर र कोहल्बी नगरपालिकामा मात्र एमालेले जितेको थियो ।
ठूला दलको मनमुटाबबीच गठबन्धनबाहेक अधिकांश स्थानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुने पार्टीका सचिवालय सदस्य रमेश घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्