
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज बिहीबार हुँदैछ ।
बुधबार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ बिहीबार हुन लागेको हो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
गत वर्षको चैत २५ गते बसेको मन्त्रिपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा पर्नुभएको थियो ।
न्यायाधीश हरिप्रसाद फुयाँलको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्कनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्