२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी


117
Shares

काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डबीच समझदारी भएको छ ।

यस सम्बन्धी समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले हस्ताक्षर गर्नुभएको हो । समझदारीसँगै दुवै संस्थाहरूले पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका हुन् ।

आपसी समझदारी अनुसार पर्यटन विकासका लागि विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदानप्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने जनाइएको छ ।

यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, हिल स्टेशन, पार्क लगायत सम्भावित पर्यटन उत्पादनहरूमा सहकार्य हुने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमति कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।