१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशीसँग नेपालीसरह हवाइ भाडा लिनुपर्छ : मन्त्री आले


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरूले पनि नेपालीसरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले नेपालीहरू विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री आलेले आन्तरिक वायुसेवा कम्पनीहरूलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिनुभयो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनको लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभाग र अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागले गर्दा पर्यटकहरू विमानस्थलमा दुई घण्टा लाइनमा उभिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

मन्त्री आलेले सरकार गठन भएको ९ महिना बितिसक्दा समेत पर्यटन, अर्थ र गृह मन्त्रालयबीचसमन्वय हुन नसकेको बताउनुभयो । शौचालय तथा यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीहरूलाई ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।