२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्लाहीका अधिकांश मतदानस्थल संवेदनशील


780
Shares

सर्लाही । स्थानीय तहको निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदान स्थलमध्ये ९० प्रतिशतभन्दा बढी स्थान संवेदनशील मानिएको छ ।

कुल ३ सय १८ मतदानस्थल मध्ये १ सय ३ मतदानस्थल अति संवेदनशील तथा १ सय ८४ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षा समितिले जिल्लाको ३१ मतदानस्थललाई मात्र सामान्यको सूचीमा राखेको छ । ती ३१ मतदानस्थलमा ५५ मतदान केन्द्र रहेका छन ।

मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई ध्यानमा राखेर आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा प्रबन्ध मिलाइने सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, यातायातको असुविधा, विगतका निर्वाचनमा दलहरुबीचमा भएका झडप तथा आपराधिक क्रियाकलाप भएको आधारमा वर्गीकरण गर्दा १ सय ३ मतदान स्थललाई अति संवेदनशील मानेको हो । ती मतदानस्थलमा २ सय ५ मतदान केन्द्र रहेका छन् । अति संवेदनशील मतदानस्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्बर ३ र ४ का रहेका छन् ।

यस्तै, जिल्लामा संवेदनशीलको सूचीमा रहेका १ सय ८४ मतदानस्थलका ३ सय ३९ मतदान केन्द्र रहेका छन् । अति संवेदनशील र संवेदनशील मतदान केन्द्रहरुमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक गौतमले बताउनुभयो ।

यसअघिको निर्वाचनमा जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय १८ मतदान केन्द्र राखिएको थियो । यसपटकको निर्वाचनमा भने ३ सय १८ वटै मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदाताको संख्या बढेकाले ८१ मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले बताउनुभयो ।