
काठमाडौं । काठमाडौंको फोहोर निर्मूल गर्ने पहिलो एजेण्डा बनाएका काठमाडौं महानगरका प्रत्यासी फोहोरकै डुंगुर नाघेर मतदातासँग भोटको याचना गरिरहेका छन् ।
अहिलेका प्रत्यासीहरू पनि एक स्वरमा काठमाडौं सफा बनाउने नारा दिन्छन् । यद्यपि विश्वासलाग्दो तर्कसंगत योजना कसैसँग छैन ।
कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिनुभएकी सिर्जना सिंह लोकतन्त्रका लागि आफ्नो परिवारले गरेको योगदान सम्मान हुनुपर्ने बताउनुहुन्छ । आफूले जितेमा विधिको शासन पहिलो प्राथमिकतामा पर्ने उहाँको भनाइ छ ।
दुई दशकअघि मेयर भइसकेका एमाले प्रत्यासी केशव स्थापित आफू एक्सनमा चल्ने भएकाले पहिला आफूले गरेका ऐतिहासिक कामको निरन्तरता दिन पनि मेयरमा दावी स्वाभाविक रहेको बताउनुहुन्छ ।
मेयर भएमा पहिलो काम के त ? जवाफमा स्थापित भन्नुहुन्छ, ‘शहरका सबै पर्खाल भत्काएर पार्क बनाउँछु ।’
गठबन्धनबाट उपमेयर पदमा उम्मेदवारी दिनुभएका रामेश्वर श्रेष्ठसँग भने बालबालिका, युवा, ज्येष्ठ नागरिक लक्षित रहरलाग्दा योजना छन् ।
कलाक्षेत्रमा लामो योगदान दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले पनि राजधानीलाई व्यवस्थित बनाउने योजना बुन्नुभएको छ ।
विवेकशील पार्टीका समीक्षा बाँस्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाह विधिको शासन र युवाकेन्द्रित योजनालाई प्राथमिकतामा राख्न रुचाउँछन् ।
विधि बोलेको ठाउँमा बोली मौन हुन्छ । त्यसैले चुनावमा दिइने फोस्रो आश्वासनभन्दा पद्दति केन्द्रित शासन व्यवस्थालाई मूल मान्ने विवेकशील निर्णय अहिलेको आवश्यकता हो । होइन भने, चुनावी बोली उधारो आश्वासनमा सीमित हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्