१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सञ्चार मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत


39
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले आफ्नो मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताउनुभएको छ ।

सचिव अर्यालले आफ्नो मन्त्रालय र त्यस अन्तरगतका निकायहरुको कामलाई विद्युतीय प्रणालीमार्फत् नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्थापन प्रणाली तयार गरिसकेको पनि बताउनु भयो ।

प्रविधि पत्रकार मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो प्रणाली अन्य मन्त्रालयहरुमा पनि तत्काल विस्तार गर्दै लैजाने योजना सार्वजनिक गर्नुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सो प्रणाली जडान गर्ने काम सुरु गरिएको र त्यसलाई अन्य मन्त्रालय र निकायहरुमा विस्तार गर्न आवश्यक तालिमको प्रारुप पनि तय गरिएको बताउनु भयो । सचिव अर्यालले सूचना र प्रविधिमा सबै नागरिकको पहुँच विकास गर्न सरकारले पूर्वाधार विकासमा जोड दिएको पनि दोहोर्‍याउनुभयो ।

सचिव अर्यालले सूचना, प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको समेत दोहोर्‍याउनुभयो । उहाँले सरकारले जनताको सेवा प्रवाहको कामलाई सहज बनाउन नै सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको स्पष्ट पार्नुभयो ।