१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकामा गर्भपतनलाई कानुनी मान्यता दिने प्रावधान खारेज गर्न लागेको भन्दै हल्लीखल्ली


338
Shares

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिने कानुनी प्रावधान खारेज गर्न लागेको भन्ने चर्चाले अमेरिकामा हल्लाखल्ला मच्चिएको छ ।

सर्वोच्च अदालतले आगामी जुनभित्र जारी गर्न लागेको आदेशमा सन् १९७३ मा पहिलो पटक गर्भपतनलाई मान्यता दिने निर्णय उल्ट्याउने तयारी गरेको भन्ने सूचनाले हल्लीखल्ली गराएको हो ।

सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिने निर्णय उल्ट्याउने पक्षमा मतदान भएको बताइएको छ । न्यायाधीश स्यामुएल एलिटोले लेख्दै गरेको आदेशमा सन् १०७३ मा रो भर्सेस वाद मुद्दामा गर्भपतनलाई मान्यता दिने निर्णय उल्ट्याइएको खबर द पोलिटिकोले दिएको हो ।

न्यायाधीश एलिटोले लेख्दै गरेको आदेशमा सन् १९७३ को निर्णय सोह्रै आना गलत भएको जिकीर गरिएको दाबी पनि उक्त संचार माध्यमले गरेको छ । साथै सन् १९९२ मा गर्भपतनलाई ब्यवस्थित बनाउने गरी ल्याइएको कानुनी प्रावधान पनि सर्वोच्चले खारेज गर्न लागेको बताइएको छ ।

सर्वोच्च उक्त खबर साँचो हो भने त्यो अमेरिकाको आधुनिक न्यायिक ईतिहासमा अभूतपूर्व हुने र त्यसले अमेरिकी जनजीवनलाई निकै फरक पार्ने विश्लेषण पनि गरिएको छ ।

सर्वोच्च अदालत र ह्वाइट हाउस दुवैले यस विषयमा कुनै पनि टिप्पणी गरेका छैनन् ।

आदेशमा सन् १९७३ को निर्णय उल्ट्याउनु पर्ने र गर्भपतनको विषय निर्वाचित जनप्रतिनिधिहरुलाई छाडिदिनुपर्ने उल्लेख रहेको बताइएको छ ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले विज्ञप्ति जारी गर्दै बाहिर आएको सूचना सही हो भने त्यसले ५० वर्षदेखि उपभोग गर्दै आएको अधिकार खोसिने प्रतिक्रिया दिएकी छन् ।

अधिकारकर्मीहरु पनि सर्वोच्च अदालत अगाडि भेला भएर आक्रोश पोखेका छन् ।