
काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले संकल्प–पत्र सार्वजनिक गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेणु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले संकल्प–पत्र जारी गर्नुभएको हो ।
संकल्प–पत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक रु. ५ हजार भत्ता दिइने सहितका कार्यक्रम समावेश गरिएको छ ।
विद्यालय शान्ति क्षेत्रको मान्यता दिँदै २० प्रतिशतसम्म बजेट विनियोजन गरिने छ । संकल्प–पत्रमा एक परिवारलाई मासिक ६ हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गरिने उल्लेख छ ।
त्यसैगरी दूधमा प्रतिलिटर ३ रुपैयाँ दिँदै आएको अनुदानलाई वृद्धि गरिने छ । विपन्न, मजदुर, किसानलाई ५८ वर्षको उमेरपछि पेन्सनको व्यवस्था मिलाइने संकल्प प्रस्तावमा उल्लेख छ ।
१६ वर्ष मुनीका बालबालिकाको स्वास्थ्य उपचार निःशुल्क गरिने छ । घरघरमा कम्तिमा एक जनालाई रोजगारी अवधारणालाई अघि सार्दै स्वःरोजगारको सृजना गर्ने वातावरण बनाइने संकल्प–पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्