
कैलाली । देशमा स्थानीय तह निर्वाचनको मिति नजिकिए पनि सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेको संख्या घटेकाे छैन ।
अहिले गौरी फन्टा नाका हुँदै भारत जानेको संख्या दैनिक १ हजारको हाराहारीमा रहेकाे छ । भारतबाट नेपाल फर्किनेहरूको संख्या त्यो भन्दा बढी रहेको देखिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्ष कार्यकर्ता पोस्ने र भ्रष्टाचार गरेर मात्र बिताएको भन्दै सुदूरपश्चिमका मतदाता आजित भएका छन् । मुलुकको विकास भन्दा पनि आफ्नो विकासमा जनप्रतिनिधि केन्द्रित देखिएकाले मतदान नगरी रोजगारीका लागि भारत जान लागेको उनीहरूकाे भनाइ छ ।

अछामको कलम बजार नगरपालिकाका भरत कोली, गाउँठाउँमा राेजगारी नपाएपछि मतदान नगरी भारत जान लागेकाे बताउनुहुन्छ ।
केही उम्मेदवारले निर्वाचनअघि भारत नजान भने पनि गएकाे निर्वाचनपछि ५ वर्षसम्म गाउँमा हेर्नलायक काम नभएकाे उहाँकाे भनाइ छ । पाँच वर्षकाे अवधिमा भ्रष्टाचारबाहेक अन्य केही पनि नभएपछि मतदान नगरी भारत जान लागेकाे बताउनुभयाे ।

कैलालीको लम्किचुहा नगरपालिकाका भाष्कर जोशी नेताहरूलाई भोट दिएर परिवार पाल्न नसकिने भन्दै भारत पस्न लाग्नुभएकाे हाे । निर्वाचनमा मतदान गरी जिताएका नेताहरूले आफ्नालाई भरणपोषण गर्दै भ्रष्टाचारमा लिप्त हुने गरेकाे उहाँकाे गुनासाे छ ।
सुदूरपश्चिमबाट पाँचपटक शेरबहादुर देउवा प्रधानमन्त्री भइसक्दा पनि भारत जानुपर्ने बाध्यता अन्त्य नभएकाे भन्दै उहाँले कुनै पनि नेतालाई जिताएर जनतालाई फाइदा नपुगेकाे बताउनुभयाे ।

सुदूरपश्चिमको मुख्य नाका गौरीफन्टा भएर अहिले दैनिक नेपाल भित्रिने भन्दा बाहिरीनेको संख्या बढ्दै गएको छ । गौरीफन्टा नाकामा रहेको हेल्थ डेक्सका इन्चार्ज गणेश साउदले भारत जानेको संख्यामा कमी नआएको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले निर्वाचनपछि मात्र कामको खोजीमा भारत जान आग्रह गर्दै आएका छन् ।
तर, २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी जनप्रतिनिधिले ५ वर्षसम्म कुनै काम नगरेकाले अहिले पनि मजदुरीको खोजीमा बाहिरिनु परेको सुदूरपश्चिमवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्