१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


राहत वितरणमा पनि विभेद भएकाे कांग्रेस नेता केसीकाे आराेप


0
Shares

काठमाडौं, चैत्र २२ ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले काेराेना भाइरसका कारण प्रभावित भएकाहरूलाई राहत वितरण गर्दा पनि भेदभाव भएकाे आराेप लगाएका छन् ।

भाइरसका कारण गरिएकाे बन्दाबन्दीमा बाहिर काममा जान नपाउँदा प्रभावित भई खानसम्मकाे समस्या परेकाहरूलाई सरकारले राहत वितरण गर्न थालेकाे छ ।

यस्ताेमा राहत पाउनकै लागि प्रभावितहरूलाई सत्तारूढ दल नेकपाकाे सदस्यता लिन दबाब दिनेसम्मकाे काम भएकाे नेता केसीले बताएका हुन् ।

कोरोना भाइरसबाट देश आक्रान्त भएका बेला सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रमा रहेका नेता राष्ट्रकाे ढुकुटी मार्न र तल्लाे तहका नेता कार्यकर्ता भने पक्षपातमा जुटेका हुन् ।

स्थानीय तहका कार्यकर्ता राजनीतिक अभिष्ट पूरा गर्ने हतियारका रुपमा कोरोना कहरलाई दुरुपयोग गरिरहेकाे केसीको आराेप छ ।

राहत पाउन गरीब, निमुखा वा दैनिक ज्यालादारी गर्नेभन्दा नेकपा समर्थक हुनु अनिवार्य बनाइएको उनले बताए । यस्तो अवस्था राजधानी लगायत गाउँ गाउँमा देखिएको केसीकाे भनाइ छ ।

पूर्वमन्त्रीसमेत रहेका नेता केसीले यस्तो गलत तरिका अपनाएर नेकपाले राजनीतिक दुष्टता देखाएको टिप्पणी गर्दै भने, ‘आफूलाई देशैभरिका साथीहरुले यस्तो रिपोर्टिङ गरिरहेको, देशमा यत्रो महासंकट आएका बेला पनि नेकपाका साथीहरुले अनावश्यक राजनीति गरेकाले यस्ता क्रियाकलापको कडा शब्दमा भर्त्सना गर्दछु ।’

राहत वितरणमा धाँधली गर्नु राजनीतिक बेइमानी हो भन्दै नेता केसीले भने, ‘यो महासंकटलाई राजनीतिक स्वार्थमा प्रयोग गरिनु घोर निन्दनीय काम हो । एक त राहत वितरण गर्दा आफ्ना पक्षकालाई मात्र गर्ने, अरुलाई गर्नुपरे पार्टी सदस्यता लिनुपर्ने ? यो भन्दा ठूलो राजनीतिक पाखण्ड अरु केही हुन सक्दैन ।’

यसको नियन्त्रण, अनुगमन तथा निष्पक्ष वितरणका लागि स्थानीय तहमै सर्वदलीय संयन्त्र बनाउन माग गर्दै नेता केसीले यसका लागि तत्काल पहल गर्न नेकपासँग माग गरेका छन् ।