
काठमाडौं । केही दिनअघि मात्र मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ३० करोड हाराहारी पुगेको घोषणा गरेको तथ्याङ्क विभागले बिहीबार प्रदेशस्तरीय योगदानको समेत तथ्याङ्क सार्वजनिक गरेको छ ।
विभागका अनुसार प्रदेशगत राष्ट्रिय उत्पादनसँगै आर्थिक वृद्धिदरमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको नै छ ।
गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा ३७ दशमलब ७ प्रतिशतको योगदान रहेको बागमती प्रदेशको यो वर्ष घटेर ३६ दशमलब ९ प्रतिशतमा झरेको छ । यद्यपि, समग्रमा प्रदेशको आर्थिक गतिविधि बढेपनि यस वर्ष अन्य प्रदेशको योगदान बढ्दा बागमती प्रदेशको केही कम देखिन गएको हो ।
विभागको तथ्याङ्क अनुसार यस वर्ष साढे ४८ खर्ब हाराहारी पुगेको राष्ट्रिय उत्पादनमा बागमती प्रदेशको मात्रै १७ खर्ब ९० अर्ब ६८ करोड रुपैयाँ बराबरको योगदान रहेको छ । पत्रकार सम्मेलनमा विभागका निर्देशक गणेशप्रसाद आचार्यले प्रदेशस्तरीय आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदर नजिक रहेको बताउनुभयो । आचार्यले प्रदेश तहको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्र र कम औद्योगिक क्षेत्रको रहेको जानकारी दिनुभयो ।
विभागको तथ्याङ्क अनुसार १५ दशमल ७ प्रतिशतको योगदानसहित प्रदेश १, दोस्रो स्थानमा छ । त्यस्तै १४ दशमलब १ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३ दशमलब २ प्रतिशतसहित मधेस प्रदेश चौथो स्थानमा छ ।
कुल ग्राहस्थ्य योगदानमा ८ दशमलब ९ प्रतिशतको योगदान दिएको गण्डकी प्रदेश पाँचौँ स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेश ७ प्रतिशतसहित छैटौं र कर्णाली प्रदेश ४ दशमलब १ प्रतिशतसहित सातौं स्थानमा रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्