
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न आग्रह गर्नुभएको छ ।
बिहीबार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई नोक्सानी पुग्ने र अर्को गठबन्धनलाई मद्दत पुग्नेगरी नलाग्न सबैमा आग्रह गर्नुभएको हो । उहाँले गठबन्धनका कारण गठबन्धनमा आवद्ध सबै दलहरुलाई केही न केही फाइदा पुगेको बताउनुभयो ।
अध्यक्ष नेपालले भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको योग्यताको जाँच भइसकेकाले मेयरमा चयन गरेर गठबन्धनले सहि निर्णय गरेको बताउनुभयो । उम्मेदवार दाहाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको छोरी भएकै कारण गठबन्धनले मेयरमा नउठाएको उहाँले स्पष्ट पार्नुभयो ।
योग्य र समक्ष भएका मानिसलाई राजनीतिमा आउन दिनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष नेपालले नेपाली कांग्रेसका असन्तुष्ट उम्मेदवारलाई वक्तव्य निकालेर उम्मेदवारी फिर्ता लिन आग्रह पनि गर्नुभयो । उहाँले राजनीतिलाई निष्ठा, सर्मपण र आदर्शको विषय बनाएको भए व्यक्तिगत कुण्ठाको आधारमा नचल्न पनि आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले गठबन्धन आगामी चुनाव र त्यसपछि पनि लिएर जानुपर्ने बताउनुभयो । उहाँले गठबन्धनको मर्म र सिद्धान्तलाई इमान्दारीताका साथ पालना गर्दै साझा उम्मेदवारलाई जिताउनु सबैको कर्तव्य भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्