
काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपीमा)मा बाग्मती प्रदेशको सबै भन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । नेपालको अर्थतन्त्रमा सबैभन्दा कम हिस्सा भने कर्णाली प्रदेशको रहेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत अर्थात् १ खर्ब ९८ अर्ब मात्रै योगदान हुने तथ्यांक रहेको छ ।
अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा बाग्मती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको तुलनामा बाग्मती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान घटेको विभागको तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक विभागका निर्देशक गणेशप्रसाद आचार्यले प्रदेशस्तरीय आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदरनजिक रहेको बताए । उनले नेपालको कुल गार्हस्थ उत्पादनमा प्रदेश तहमा सबैभन्दा धेरै बाग्मती प्रदेशको योगदान रहेको बताए ।
तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७८/७९ मा बाग्मती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। त्यस्तै, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.१७, कर्णालीको ५.४७, प्रदेश १ को ५.४१, लुम्बिनीको ५.३६, सुदूरपश्चिमको ४.९३ र मधेस प्रदेशको ४.८२ प्रतिशत रहेको विभागले जनाएको छ । कुल गार्हस्थ्य उत्पादनमा पनि बाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी छ ।कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको हिस्सा ३६.९, प्रदेश १ को १५.७, लुम्बिनीको १४.१, मधेसको १३.२, गण्डकीको ८.९, सुदूरपश्चिमको ७ र कर्णाली प्रदेशको ४.१ प्रतिशत रहेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्