
गृष्मा राजभण्डारी/कोमल शेरचन
काठमाडौं । चुनाव आउन केही दिन बाँकी रहँदा उम्मेदवार घरदैलो गरिरहेका छन् भने मतदाता उम्मेद्वार जोख्न व्यस्त छन् ।
त्यसमाथि लाखौंको संख्यामा थपिएका किशोर वयका मतदाताको आफ्नै रुचि छ । कोही युवापुस्ताको प्रतिनिधित्व चाहन्छन् त कोही विकासप्रेमी नेता छान्नुपर्ने मान्यता राख्छन् ।
राजनीति नीतिहरूको राजा हो । चुनावलाई त्यही राजनीति चलाउने मेरुदण्ड मानिन्छ । राजनीतिक प्रतिवद्धता बोकेका कार्यकर्ताहरू झण्डा बोकेर उम्मेदवार घेरेर हिँडेका छन् ।
ज्येष्ठ नागरिक संस्कृति, सम्पदा र विकास अग्रभागमा राख्छन् । उनीहरूको चासो सामाजिक सुरक्षामा छ । युवाहरू रोजगार सिर्जनालाई पहिलो प्राथमिकतामा राख्छन् ।
केही मतदाताको राजनीतिप्रति सकारात्मक दृष्टि छैन । जो आए पनि स्वार्थकेन्द्रित रहेको उनीहरूको गुनासो छ । उनीहरू देशमा नेतै नभएको गुनासो गर्छन् ।
‘कोही नेता छैन, कसलाई भोट दिने, मान्छे नै छैन,’ उनीहरू भन्छन्, ‘कुन दिन जन्मिन्छन् थाहा छैन, समय आएपछि जन्मेलान्, अहिले चाहिँ नेतै छैन यो देशमा ।’
युवापंक्तिको कुरै बेग्लै छ । राजनीतिमा पुरानो पुस्ता नफेरिएकोमा गुनासो गर्ने यो वर्ग देशका सबै क्षेत्रमा युवा नेतृत्वको खाँचो देख्छ । दलीय झण्डाभन्दा पनि एजेण्डामा केन्द्रित हुन उनीहरूको सुझाव छ ।
अर्काथरी भने नातावाद, कृपावाद र झोले झण्डेहरूबाट देशको राजनीति माथि उठ्न नसकेको भन्दै हाम्रा नभएर राम्रा उम्मेदवार छान्नुपर्ने मत राख्छन् । पार्टीबाट दिक्क भइसकेको बताउने उनीहरू सक्षम व्यक्ति छान्ने सुरमा छन् ।
मतदानको एकदिन विवेक नराख्दा बाँकी १८ सय २४ दिन (पाँच वर्ष) पछुताउने अवस्था आउनुभन्दा बेलैमा उचित निर्णय गर्नु बुद्धिमानी ठहर्छ ।
प्रतिक्रिया दिनुहोस्