
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको च्याम्पियन्स लिग फुटबलमा आफ्ना स्थान सुरक्षित गरेको छ ।
ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल बेटिसलाई २–१ ले हराउँदै बार्सिलोनाले लिगमा शीर्ष चारको स्थान पक्का गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन अन्सु फाती र जोर्डी अल्बाले एक एक गोल गरे । बेटिसका मार्क बार्ट्राले एक गोल फर्काएका थिए ।
खेलको ७६ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा मार्क बार्ट्राले गोल गर्दै बेटिसलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा अल्बाले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।
जितसँगै ३५ खेलबाट ६९ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा रहेको छ । ५८ अंक जोडेको बेटिस पाँचौं स्थानमा छ ।
यस वर्षको ला–लिगाको उपाधि रियल मड्रिडले जितिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्