
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् भनी प्रश्न गर्नुभएको छ ।
आइतबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति आफ्नो सहानुभूति रहेको बताउनुभयो । जिन्दगीभर कांग्रेस भएर हिँडेकाहरुले प्रचण्डकी छोरीलाई मेयरमा जिताउन लाग्नु पर्ने बाध्यतामा पुगेको उहाँले टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पदका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सिध्याउन लागेको जिकिर गर्नुभयो । उहाँले प्रचण्डको धम्क्याएर खाने बानी अझैं नगएको भन्दै गठबन्धनले यो चुनाव नराम्ररी हार्ने ठोकुवा गर्नुभयो ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको प्रेम धेरै समय नटिक्ने दाबी गर्नुभयो । पाण्डेले गठबन्धनलाई चाउरे पिरतीको संज्ञा दिनुभयो ।
एमालेकातर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले आफ्नो विजय सुनिश्ति रहेको दाबी गर्दै निर्वाचित भए सबैभन्दा पहिले भारत भ्रमणमा जाने र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट्ने बताउनुभयो । त्यहाँ गएर उनीहरुले गरेको राम्रो काम सिक्ने उहाँको भनाइ थियो ।
राप्रपाका नेता विक्रम पाण्डेले एमाले र राप्रपाको विचार, सिद्धान्त र नीति अलग भएपनि राष्ट्रवादको सवालमा सोच मिल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्