
काठमाडौ । नेपालमा अहिले पनि कोरोना संक्रमण हुने क्रम रोकिएको छैन । पछिल्ला दिनहरूमा त यो क्रम विस्तारै उकालो चढ्दै गरेको पाइएको छ ।
छिमेकी देश भारतमा संक्रमणको गति बढेकाले त्यसको असर यहाँ पनि पर्ने निश्चित जस्तै छ । अहिले पनि जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कतामा गर्ने लापरबाहीले पुनः कोरोना संक्रमण बढाउने स्वास्थ्य मन्त्रालयकाे चेतानवी छ ।
स्वास्थ्य मन्त्रालय र विज्ञहरूको चेतावनीप्रति भने कसैले ध्यान दिएको देखिँदैन । दैनिक संक्रमण हुनेको संख्यामा कमी आएकाले काेरोना केही हदसम्म नियन्त्रणमा आएको हो ।
तर, राजनीतिक नेतृत्वदेखि कार्यकर्ता र सर्वसाधारणले शहरदेखि गाउँसम्म कोरोना पूर्ण रूपमा नियन्त्रणमा आए जस्तो व्यवहार गरिरहेका छन् । जसले पुनः संक्रमण बढाउने खतरा देखिएकाे छ ।
पछिल्ला केही महिनायता स्थिर रहेको संक्रमण दर अहिले दैनिक १० देखि १५ जनामा पुष्टि हुने गरेको छ । बिनामास्क भिडभाडमा भेटिएकाहरू कोही पूर्णमात्रको खोप लगाएकाले संक्रमण नहुने तर्क गर्छन् ।
‘तीनमात्र खाेप लगाइसकेकाले अब हामी सुरक्षित भइसक्याै, अब मास्क जरुरत छैन,’ एक सर्वसाधारण भन्छन्, ‘आत्मबल बलियाे पारेपछि राेग लाग्दाेरैन्छ, अब आत्मबल बढाउनी मास्क नलाउनी ।’
चुनावका लागि भारतमा रोजगारीमा गएकाहरू पनि दैनिक सयौंको संख्यामा घर फर्किरहेका छन् । त्यसले पनि संक्रमणको जोखिम झन उच्च बनाएकाले बेलैमा सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्