
काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको आरोपको प्रतिवाद गरेको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले हिजो मतदातालाई ६७ बुँदे अपिल सार्वजनिक गर्ने क्रममा कांग्रेसमाथि लगाएका आरोपलाई झुटनको पुलिन्दाको संज्ञा दिनुभयो ।
एमाले अध्यक्ष ओलीको विशेषता नै झुटो बोल्ने, कुरा मात्रै गर्ने तर काम नगर्ने भएको आरोप लगाउँदै महतले एमाले कांग्रेसको नीति तथा कार्यक्रमको साँवा र ब्याज खाने पार्टी भएको आरोप लगाउनुभयो ।
एमाले अध्यक्ष ओली सबै दृष्टिकोणबाट असफल भएर सरकारबाट बाहिरिएको टिप्पणी गर्दै महतले ओली नेतृत्वको सरकारको पालामा ऋण लिएर घ्यु खाने काम मात्रै भएको र ओली सरकारमा रहिरहेको भए देश श्रीलंका भइसक्ने बताउनुभयाे ।
त्यस क्रममा डा महतले प्रधानमन्त्री पत्नी आरजु देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला विवादास्पद अभिब्यक्तिको पनि बचाऊ गर्नुभयो ।
आरजु देउवाले डडेल्धुरामा कांग्रेसले नजिते बजेट नपठाउने भनेर नबोलेको दाबी गर्दै महतले कांग्रेसलाई जिताए बजेट सुनिश्चित हुन्छ भनेको तर्क गर्नुभयो ।
यस्तै माओवादी अध्यक्ष दाहालले भरतपुरमा आफ्नी छोरी रेनु दाहालले चुनाव हारे देश दुर्घटनामा जान्छ भनेको विषयमा पनि महतले दाहालको बचाउ गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्